मुना–पुष्कर चालिसे परोपकार केन्द्र

मुना–पुष्कर चालिसे परोपकार केन्द्र जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मिति २०८२ श्रावण ५ गते दर्ता भई स्वीकृत विधानअनुसार स्थापना गरिएको एक सामाजिक परोपकारी संस्था हो। संस्थाको प्रमुख उद्देश्य नेपाल राज्यभरका गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई छनोट गरी उनीहरूको पठन–पाठनमा आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नु हो।

संस्थाले आफ्ना उद्देश्यहरू प्राप्त गर्न उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सामुदायिक तथा सरकारी विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरू पहिचान गर्ने, आवश्यक सहयोग प्रदान गर्ने तथा विभिन्न सञ्चार माध्यमको प्रयोगमार्फत कार्यक्रम प्रभावकारी बनाउने लक्ष्य लिएको छ। यसै सन्दर्भमा समाजका प्रतिष्ठित व्यक्तित्व, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाहरूसँग राय–सुझाव संकलन गरी सामाजिक प्रभावबारे छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।

संस्थाको उद्देश्य

संस्थाको उद्देश्य देहाय बमोजिम रहेका छन्:

क) यो संस्था मुनाफारहित, जनहितकारी सामाजिक संस्था हुनेछ।

ख) संस्थाले नेपाल राज्यभरबाट गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूको छनोट गरी उनीहरूको पठन–पाठनमा आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नेछ।

ग) नेपाली नागरिकहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछ।

घ) समाजसेवामूलक कार्यहरू, विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि विभिन्न संघ–संस्थासँग सहकार्य गर्नेछ।

ङ) प्राचीन कला, संस्कृति, भाषा, साहित्य तथा मठ–मन्दिरहरूको संरक्षण र जगेर्ना गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ।

च) ज्येष्ठ नागरिकहरूको हेरचाह, संरक्षण तथा सम्मान प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नेछ।

सूचनापाटी

एक जिल्ला एक छात्रवृत्ति कार्यक्रम:

  • संस्थाले क्रमशः “एक जिल्ला एक छात्रवृत्ति (One District One Scholarship – ODOS)” कार्यक्रम भविष्यसम्म निरन्तर सञ्चालन गर्ने लक्ष्य लिएको छ।
  • आगामी शैक्षिक सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट जनसंख्याका आधारमा प्रत्येक जिल्लाबाट १–१ जना गरी जम्मा १३ जना विद्यार्थीलाई प्रति विद्यार्थी रु. ५,०००/- का दरले छात्रवृत्ति उपलब्ध गराइनेछ। उक्त रकम सम्बन्धित विद्यालयको बैंक खातामार्फत प्रदान गरिने व्यवस्था गरिएको छ।
  • यस कार्यक्रमलाई सफल बनाउन समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र सुझाव महत्वपूर्ण हुने विश्वास संस्थाले लिएको छ।

ग्यालरी